अशोक झा… राजविराज, १८ असोज । जनता समाजावदी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको भन्दै यसलाई हटाउन पुनः आन्दोलनको आवश्यकता रहेकोमा जोड दिएका छन् । राजविराजमा आइतवार सो पार्टीद्वारा आयोजित “युवा प्रवेश कार्यक्रम” प्रमुख अतिथीको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मुलुकमा कमिशन, लुटतन्त्र, भ्रष्टाचारतन्त्र उल्लेखनीय रुपमा बढेको आरोप लगाउँदै उनले यसका विरुद्ध आन्दोलनको विकल्प नरहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले जनता गरिबी र बेरोजगारीले तडपि रहेका बेला तमासे भएर बसेको यो सरकारलाई कम्युनिष्टको सरकार भन्न पनि लाज लागेको बताए । उनले भनेर–“यो सरकार कमिशन, लुटतन्त्र र भ्रष्टतन्त्रले कलंकित भएको छ । मुलुकमा चौतर्फी विकृति र समस्याको चांङ्ग लाग्दा पनि समाधान तर्फ चासो नदेखाएका कारण वर्तमान सरकार कलंकित भएको उनको टिप्पणी थियो । संविधान संशोधन गरेर असन्तुष्ट पक्षका माँग सम्बोधन नगरेसम्म हामीहरुको लडाई जारी रहने उनले उद्घोष समेत गरे । तत्कालिन समाजवादी युवा फोरमका अध्यक्ष आतेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सदस्यद्वय शेखर सिंह र मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, नेत्र विक्रम साह लगायतले पनि बोल्दै संविधान संशोधन नभएसम्म आफुहरुकोलडाई जारी रहने बताएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका २ सय ७५ जना युवाहरुलाई प्रमु ख अतिथी तथा अन्य नेतागणले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए । आइतवारै अध्यक्ष यादवले स्थानीय साह धर्मशालामा पार्टीका केन्द्रिय तथा स्थानीय नेताहरुसँग पार्टी समायोजन तथा अन्य विषयमा छलफल समेत गरेका थिए । सो कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सभासद, प्रदेश सभाका सांसद, संघीय सांसद लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।