अशोक झा…
राजविराज, १५ असोज । सप्तरी र सिरहा जिल्लाको सिमानामा रहेका बलान नदी नियन्त्रणका लागि प्रदेस सरकारले यसै आर्थिक वर्षबाट कामकाज शुरु गर्ने र यसको ताण्डव यसैवर्ष देखि समाप्त हुने प्रदेश नं. २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताएका छन् ।
बलान नदी निरिक्षणको क्रममा सप्तरीको बलान बिहुल गाउँपालिकामा बिहीवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले यसै आर्थिक वर्षबाट प्रदेश सरकारले सकेसम्म बलान नदी नियन्त्रणको कामकाज तिव्र गतिमा अगाडी बढाउने भन्दै सम्बन्धीत सबै पक्षलाई निर्देशन समेत दिएका छन् । कार्यक्रममा मन्त्री सोनलले भने–“ बलान नदी नियन्त्रणका लागि प्रदेश सरकारले गर्न सक्ने सबै कार्य गर्नेछन् र नहुने कार्यका लागि संघीय सरकारसँग समन्वय गरी नियन्त्रणको कार्य अगाडी बढाउने छ ।”
नदीको कटान तथा नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका यस भेगका किसान तथा स्थानीयबासीहरुको दुःख कष्टकर भएको भन्दै अगामी दिनमा यस्ता दुःख सहन नसकिने भन्दै मन्त्री सोनलले अगामी दिनमा यस्ता दुःखबाट कुनै पनि व्यक्ति पीडित नहुने आश्वासन समेत दिए । मन्त्री सोनलले सप्तरीका सिचाई डिभिजनका प्रमुख राम कुमार खंग र भौतिक पूर्वाधार कार्यालयका किशोर कुमार साहलाई यसै वर्ष भित्रमा नदी नियन्त्रणका लागि के के उपायहरु छन् ? त्यसको वारेमा गहन अध्ययनका लागि निर्देशन समेत दिए ।
“अप्पन बेलही युवा क्लब”को अगुवाईमा बलान बिहुल गाउँपालिकाको कार्यालयको प्राङ्गणमा राष्ट्रिय सभा सांसद मृगेन्द्र कुमार सिंह यादवको विशेष उपस्थिति तथा गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रदेश सभा सांसद अभिशेख यादव, सांसद रेणु कुमारी यादव, जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादव लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव, केन्द्रिय सदस्य सुभाष कुमार साह, जनता समाजवादी पाटीका नेता सत्य नारायण यादव, भिमराज यादव, लक्ष्मण यादव, शैलेश चौधरी, दिनेश यादव, राजेश्वर राय, विद्यार्थी नेता शम्भु यादव र मनिष यादव लगायत हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
मन्त्री सोनलको सप्तरी प्रवेश लगत्तै स्वागतका लागि जसपाका हजारौं नेता तथा कार्यकर्ताहरु जिल्लाको सुरुङ्गा नगरपालिकाको कुशहा बजार चौकमा जम्मा भई स्वागत गरेका थिए । त्यस पश्चात मन्त्री सोनल सहितका टोली बलान बिहुल गाउँपलिका वडा नं. ४ बेल्ही, वडा नं. २ दिघिया र वडा नं. १ थलहा स्थित बलान नदीको निरिक्षण गरेका थिए ।