अशोक झा…
राजविराज, १४ असोज । सप्तरीमा बुधवार १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज नगरपालिका वडा नं. ७ मा एकै परिवार ६ जना, वडा नं. ४ का ३ जना र वडा नं. ८ का २ जनामा संक्रमण देखिएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि देखिएको छ । त्यस्तै डाक्नेश्वरी नगरपालिकाका २ जनामा संक्रमणको पुष्टि देखिएको निमित्त प्रमुख यादवले बताए ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ।
२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४ सय २१ पुगेको छ। यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ।