अशोक झा…
राजविराज, १४ असोज । मित्र राष्ट्र भारतबाट सप्तरीका एकजना युवतीको उद्धार गरिएको छ ।
सप्तरीको दौलतपुर गाउँपालिका वडा नं. ३ बस्ने १८ वर्षीया विपना चौधरीलाई प्रहरीले उद्धार गरेको हो। सशस्त्र प्रहरीको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार उद्धार गरेको हो। युवतीलाई भारत लाने एक महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
युवतीलाई फकाएर भारतको विहार राज्यतर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालिकास्थित भाण्टावारी नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो। प्रहरीले युवती भारत लाने सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीकै शम्भुनाथ नगरपालिका वडा नं. ७ की २२ वर्षीय सुचिनकला चौधरी र सिराहाको लहान नगरपालिका वडा नं. १९ का ३२ वर्षीय जिवछ साहलाई पक्राउ गरिएको छ ।
युवतीलाई सुरुमा सुचिनकलाले फकाएको अनुसन्धानबाट खुलेको छ। उनले फकाएपछि मन्सुरी र साहले मन्दिरमा पूजा गर्न हिँडेको भन्दै सीमा क्षेत्र कटिसकेको अवस्थामा एसएसबीको थप सहयोगमा युवतीको उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर आवश्यक कारवाहीका लागि लागि चारैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ।