अशोक झा…
राजविराज, १२ असोज । सप्तरीमा बलात्कार प्रयासका फरार तीन अभियुक्त चार वर्ष पछि पक्राउ परेका छन् ।
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं. ३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका वडा नं. ५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गरेका थिए । फैसलापछि अभियुक्तहरु फरार थिए ।
आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएका थिए ।
यसैबीच विभिन्न मुद्दामा अदालतबाट सजाय पाए पश्चात फरार रहेका ३९ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय सप्तरी र मातहतका टोलीले छिन्नमस्ता गाउँपालिका १६ जना सहित जम्मा ३९ जनालाई पक्राउ गरेको छ ।
कुटपिट, जालसाजी, जबरजस्ती करणी मुद्दा, करकाप लुटपाट, गाली बेज्जती, बाली बिगो र सार्वजनिक अपराध लगायका मुद्दामा जिल्ला अदालत सप्तरीबाट सजाय पाए पश्चात आरोपितहरु फरार रहेको प्रहरीले जनाएको छ ।