तिरहुतमा महिलाको विभत्स हत्या
अशोक झा…
राजविराज, १२ असोज । सप्तरीको मैनाकडेरीमा एकजना महिला शंकास्पद अवस्थामा मृत भेटिएकी छिन् ।
घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरी बस्ने शिव नारायण कौडगिया यादवकी ५० वर्षिया पत्नी दयामनदेवी यादव मृतावस्थामा भेटिएकी हुन् ।
गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उनको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाले कर्तव्यबाटै हत्या भएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने र दुवै तरिकाले अनुसन्धान भइरहेको उनले बताए ।
त्यसैगरी घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेश सिंह स्वयम् पुगेको जानकारी दिदै धमलाले घटनाको अनुसन्धानमा प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिए । प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली सोमवारै घटनास्थल पुगेको बताइएको छ ।
शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरी परिवारजनको जिम्मा पश्चात आइतवार साँझ अन्तिम संस्कार गरिएको छ ।