अशोक झा….
राजविराज, ११ असोज । करिब एक हप्ताको लगातारको वर्षा आइतवार बिहानबाट रोकिएको कारण सप्तरीका नदी, खोलामा पानीको बहावमा कमि आएको छ ।
नदी क्षेत्रमा बहावमा केही मात्रामा कमि आए पनि तटीय क्षेत्रबाट बासिन्दामा त्रास भने कम भएको छैन ।
सप्तकोशी नदी लगायत जिल्लाको खाँडो, महुली, बलान, खडक, त्रियुगा, जितालगायत नदी–खोलामा पानीको सतह बढेर आएको त्रासदीमा अझै कमि नआएको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का संतोष झाले बताए । खाँडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ को तिलाठी र बेल्ही टोलमा ५० घर डुबानमा परेको छ ।
बाढीले सयौं विघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ। नदी, खोलामा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा परेपछि स्थानीय जनप्रतिनिधि निरीक्षण अनुगमनमा जुटेका थिए ।