अशोक झा
राजविराज, ११ असोज । सप्तरी जिल्लामा आइतवार सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार जिल्लाको अग्निसाइर कृष्णासबरन गाउँपालिकाका ४ जना, तिलाठी कोइलाडी गाउँपालिकाका २ जना र राजविराज नगरपालिकाका १ जनामा संक्रमणको पुष्टि भएको छ ।
यसैबीच देशमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २ सय ८१ जना रहेका छन्।
मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय २८ पुगेको छ।
नेपालमा कोरोनाबाट हालसम्म ४ सय ७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ।