अशोक झा…
राजविराज, ०५ असोज । सप्तरीमा आइतवार कोरोना संक्रमणबाट मृत्यु भएका महिलाको करिब २४ घण्टा पश्चात शव व्यवस्थापन गरिएको छ ।
बिष्णुपुर गाउँपालिका वडा नं. ३ की ६२ वर्षीया महिलाको संक्रमण रिपोर्ट आएको केही घण्टामा नै मृत्यु भएको थियो । सम्बन्धित गाउँपालिकाले शव व्यवस्थापन गर्न जेसिभि दिनु पर्ने प्रावधान अनुसार शव व्यवस्थापनमा ढिलाई भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले बताए ।
मृत्यु भएको समयदेखि नै मृतकका परिवारजन २४ घण्टासम्म अस्पताल परिसरमै बसेका थिए । गाउँपालिकाले शव व्यवस्थापको तयारी गरे पश्चात नेपाली सेनाको टोलीले मृतककै गाउँ मुसहरनिया स्थित नदीमा शव व्यवस्थापन गरिएको बताइएको छ ।
बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङ्गमा भएकाले व्यवस्थापन गर्न समस्या भएको बताए। अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएको उनले बताए।
रुघा, खोकी र ज्वरोले ग्रसित भएपछि गत शुक्रबार महिला गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी थिइन्। अस्पतालको छुट्टै वार्डमा राखेर उनको उपचार भइरहेको थियो। रिपोर्ट पोजिटिभ आएपछि आधा किलोमिटरको दुरीमा रहेको आइसोलेसन केन्द्र पुरयाए लगत्तै अपरान्ह मृत्यु भएको अस्पतालले जनाएको छ।
यो संगै सप्तरीमा २ महिला सहित कोरोना संक्रमणबाट मृतकको संख्या १० पुगेको छ ।