अशोक झा….
राजविराज, ०५ असोज । सप्तरीमा एकजना वडा अध्यक्षको सोमवार निधन भएको छ ।
रुपनी गाउँपालिका वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापाको सोमबार निधन भएको हो । एक्कासी गम्भीर बिरामी परेका थापालाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई साताअघि पेट र हातखुट्टा सुन्निन थालेपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ्ग होममा भर्ना गरी ९ दिनसम्म उपचार गरिएको थियो । अस्पतालले औषधि दिएर घरमै आराम गर्न भन्दै तीन दिनअघि मात्रै डिस्जार्च गरेपछि उनी घरमै बस्दै आएका थिए ।
सोमबार औषधि खाने क्रममा एक्कासी श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा कोशी कटान नजिक जाँदा एक्कासी मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए । मृत्यु भएका वडाध्यक्षको शवलाई घर ल्याइएपछि सोमवारै अन्तिम संस्कार गरिएको छ ।
नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित थापा पछिल्लो केही दिन मानसिक तनावमा समेत परेका थिए । उनले निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै जिल्ला अदालतले घर निर्माणमा रोक लगाउने आदेश दिएको थियो ।
यसैबीच नेपाली काँग्रेस सप्तरीका नेता तथा कार्यकर्ताहरुले वडाअध्यक्ष थापाको घर पुगि पार्थिव शरीरमा पार्टीका झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।
नेपाली काँग्रेसका सप्तरीका सचिव शत्रुघन प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै मृतक वडाअध्यक्ष र राजविराज नगरपालिकावडा नं. ७ का काँग्रेसका क्रियाशिल सदस्य वसन्त जैनको निधन प्रति समवेदना प्रकट गरेका छन् ।