अशोक झा…
राजविराज, ०४ असोज । सप्तरीका निजी विद्यालय संगठनहरुले आइतवार विद्यालय संचालनको माँग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल प्याब्सन सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, प्याब्सन सप्तरीका अध्यक्ष देबानन्द चौधरी र एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साहले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापन पत्र बुझाएका हुन् ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन तथा निषेधाज्ञाका कारण देशभरिका विद्यालयहरु पूर्णरुपमा ठप्प भएका छन् । गत ६ महिनादेखि विद्यालय बन्द रहेकोले बालबालिकाहरुलाई मानसिक तथा शारीरिक रुपमा कमजोर बनाई दिएको भन्दै विद्यार्थीको भविष्यलाई चिन्तन गर्दै विद्यालय संचालन हुनुपर्ने माँग ज्ञापनपत्रमा उल्लेख छ ।
असोजको पहिलो सातादेखि विद्यालय संचालनका लागि दिएको तर्कमा संक्रमणको दर मृत्यु दर न्यून भएको, मानिसहरु कोरोनाको सम्बन्धमा धेरै कुरा जानि सकेको र विद्यालयमा विद्यार्थीहरुलाई समेत सकारात्मक सोच दिए समाजमा पनि सराकात्मक सोच उत्पन्न हुने लगायतको ज्ञापन पत्रमा उल्लेख छ ।
यसैबीच विद्यालय संगठनहरुले प्रजिअ सहित जिल्ला समन्वय समिति, शिक्षा समन्वय समिति र जिल्लाका १८ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाल प्याब्सन सप्तरीका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् ।