अशोक झा
राजविराज २१ चैत्र ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
https://youtube.com/shorts/nt_5xhBeUxo?feature=share
यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।
हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताए । अध्यक्ष यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाएका छन् । नागरिकको समस्या बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका जनता समाजवादी पार्टीका नेतालाई प्रहरीले हातपात गरेको भन्दै उनका समर्थकले रक्सी खाएर ड्युटी गर्न पाइँदैन, प्रहरीलाई कारबाही गर भन्दै प्रहरी कार्यालयबाहिर नाराबाजी गरिरहेका छन्।