राजविराज, २७ फागुन ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचनका लागि शनिवार विभिन्न बिधार्थी सङ्गठनहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी, जसपा, लोसपाले संयुक्त रूपमा चुनावी तालमेल गरेर स्ववियु सभापतिमा जसपा समाजवादी बिधार्थी युनियनका रंजित कुमार यादब मनोनयन दर्ता गराएका छन् । यसैगरी नेकपा एमाले र नेकपा एसको संयुक्त गठबन्धन तर्फबाट सभापतिमा रंजिव साहले उम्मेदवारी दिएको हो ।
यसैगरी नेपाली काँग्रेस नेबि सँघको तर्फबाट महेश कुमार यादबले स्ववियु सभापतिको उम्मेदवार मनोनयन गराएका छन् । बिधार्थी जनमत सँघ तर्फबाट स्ववियु सभापतिमा फरक क्षमता भएका अपाङ्ग रामभजन मण्डललाई समान अवसरका रूपमा उम्मेदवार बनाएको जनमतका युवा नेता रोशन कुमार देव जानकारी दिए ।
यसैगरी आम जनता पार्टी निकट आम बिधार्थी मोर्चाले स्ववियु सभापतिमा एकमात्र छात्रा उम्मेदवार डोली कुमारी साहलाई सभापति पदमा मनोनयन दर्ता गराएका छन् । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली अनुसार हुँदै छ ।
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि समितिले शनिबार ११ देखि २ बजेसम्म नामावली दर्ताको समय छुट्याएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । शनिबार नै प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।