राजविराज, ०१ माघ । पोखरामा आइतवार बिहान भएको जहाज दुर्घटनाबाट यो समाचार तयार पारुञ्जेलसम्म मृतक ७२ जना मध्ये ६८ जनाको शव निकालिएको छ ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीका अनुसार अहिलेसम्म ६८ जनाको शव फेला परेका हो । बाँकी चार जनाको खोजी कार्य तिव्ररुपमा भई रहेको छ । मृतक सबैको शव पोष्टमार्टमको तथा सनाखतको लागि स्थानीय अस्पतालमा राखिएको छ । शव पहिचान हुने अवस्थामा नरहेको कारणले समेत थप समस्या उत्पन्न भई रहेको केसीले बताए ।
मृतकमध्ये ५ जनाको सनाखत भएको र अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए।
आइतबार बिहान ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको विमान पोखरामा दुर्घटना ग्रस्त भएको हो
दुर्घटना पश्चात आइतवार मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर–सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।
गठित आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपक प्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।
पोखरामा भएको जहान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको हो ।
आइतवार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकबाट घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’
नेकपा माओवादी केन्द्रले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले स्तब्ध बनाएको भन्दै ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
यसैबीच माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा शोक वक्तव्य जारी गर्दै घाइतेहरूको तत्काल उद्धार गरि उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।
साथसाथै, मृतकका परिवार तथा घाइतेहरूलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरेको छ । ‘पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी छ,’वक्तव्यमा उल्लेख गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन् ।
आइतबार दिउँसो ट्वीटरमार्फत उनले घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेकी छन् ।
‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’– उनले लेखेकी छिन् ।