अशोक झा….
राजविराज, ०३ असोज । सप्तरीको राजविराज स्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले पहिलो पटक ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
रुपनी गाउँपालिका वडा नं. ३ कटैयाका ५० वर्षीय कमलकुमार साहको सफल शल्यक्रिया गरिएको हो । साहको स्पाइनल कोडमा भएको ट्युमर (मेरुदण्डमा पलाएको मासु) को चार घण्टाको अथक प्रयासपछि शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ ।
वरिष्ठ सर्जन डा. राजिव मिश्रा, डा. ज्ञानेन्द्र कुमार झा, डा. सरोज कुमार साह, एनेस्थेटिस्ट डा. पारषमणि साहलगायतका चिकित्सक टोलीले शल्यक्रियामा सहभागी भएका थिए ।
गम्भिर अवस्थामा अस्पताल पुगेको र अन्यत्रका अस्पतालले शल्यक्रिया वापत मागेको शुल्क तिर्न हैसियत नभएको बताएपछि साहको विशेष छुट सुविधामा अस्पतालका बिशेषज्ञ चिकित्सकहरुद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।