अशोक झा
राजविराज, ०५ भदौं । सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले आइतवार सप्तरीमा चार वटा योजनाहरुको उद्घाटन गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ स्थित विभिन्न योजनाहरुको आइतवार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमर्ला सम्बोधन गर्दै दलित शब्दलाई परिभाषित गर्न आफैमा चुनौतीपूर्ण रहेको भन्दै मन्त्री साहले दलित समुदायलाई अन्य समुदायसँगै समानान्तर रुपमा ल्याउन आफु प्रतिबद्ध रहेको बताए । दलित समुदायको सुखमा सुखी र दुःखमा आफु पनि दुःखी भई रहेको भन्दै दलित समुदायको जीवन स्तर उकास्नका लागि सबै पक्ष र समुदायलाई अगाडी आउनु पर्ने धारणा समेत राखे ।
मन्त्री साहले आइतवार बिहान सबभन्दा पहिले सो वडामा मन्त्री साहको संसदीय कोषबाट १० लाखको लागतमा निर्माण गरिएको भगवती गहबरको उद्घाटन गरेका छन् । त्यस पश्चात उनले सामाजिक विकास मन्त्रालय तथा संसदीय विकास कोषको ३५ लाखको लागतमा निर्माण गरिएको सामुदायिक भवनको उद्घाटन गरेका छन् ।
सोही क्रममा सो वडाका वडाअध्यक्ष शिव नारायण मेहताको अध्यक्षतामा भएको एक कार्यक्रम मार्फत मन्त्री साहले प्रमुख अतिथीको आसनबाट सोही वडामा निर्माण गरिएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । मन्त्री साहको संसदीय विकास कोष मार्फत २५ लाखको लागतमा सो केन्द्रको निर्माण गरिएको बताइएको छ ।
त्यस्तै मन्त्री साहले सोही वडाको राम टोलमा २० लाखको लागतमा निर्माण गरिएको सामुदायिक भवनको समेत उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विकास तिवारी, जसपा प्रदेश कमिटिका छेदी अरगरिया यादव, जसपाका सप्तरी जिल्ला सदस्य अरुण कुमार गोइत, तिरहुत गाउँपालिकाका निवर्तमान अध्यक्ष हेमन्त कुमार बहडखेर यादव “मनोज”, स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, डिविजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त कुमार साह, पार्टीका गाउँपालिका उपाध्यक्ष जोगेन्द्र लगरबार, चित्र रंजन यादव, जानकी टेलिभिजनका संस्थापक बैद्यनाथ साह, पत्रकार अशोक झा, चन्दु मिश्र र विजय साह सहित स्थानीय सयौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।