अशोक झा
राजविराज, ३० श्रावण । नागरिक्ता विधेयक फिर्ता गरेको भन्दै सप्तरीको राजविराजमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले विरोध प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले नगरको विभिन्न भागमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला सहित प्रदर्शन गर्दै जनआन्दोलन चौकमा पुतला दहन गरेका थिए । नेता तथा कार्यकर्ताहरुले “मधेश विरोधी राष्ट्रपति भण्डारी राजीनामा देव, राष्ट्रपति भण्डारी मुर्दावाद” सहितका नारा लगाएका थिए ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले समेत राजविराजमा जुलुस सहित विरोध प्रदर्शन गरेका छन् ।
लोसपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरको नेतृत्वमा निस्किएको विरोध जुलुसमा विनोद यादव, दिपेन्द्र चौधरी, रिना झा, पुनम यादव, सुनिल झा, कमाल खाँ, महेश साह सहितका नेता तथा कार्यकर्ताहरुले सहभागीता थियो ।
यसैबीच जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।
राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सिरहामा जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
प्रतिनिधि सभा र राष्ट्रसभामा बहुमतले पारित भएका नागरिक्ता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी आइतबार फिर्ता गरेकी हुन् ।