अशोक झा
राजविराज, २८ श्रावण । निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रको लागि शिक्षा सेवा आयोगले शनिवार लिएको परीक्षाका कारण परीक्षार्थीहरु सास्ती भोग्न बाध्य भएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा निर्धारित करिब डेढ दर्जन परीक्षा केन्द्रमा प्रदेश नं. १, मधेश प्रदेश तथा बाग्मती प्रदेशका करिब १५ हजार परीक्षाथी राजविराज आएका थिए ।
शनिवार बिहान ८ बजेदेखि नै परीक्षाको समय निर्धारण गरिएको हुनाले अन्य अन्य जिल्लाका परीक्षार्थीहरु शुक्रवार साँझसम्म राजविराज आएका थिए । राजविराजमा यति मात्रामा विद्यार्थी आउने निश्चितता रहेपनि यहाँका प्रशासनले कुनै खास व्यवस्था नगरेको स्थानीयहरुको आरोप रहेका छन् । परीक्षा दिन आएका परीक्षार्थीहरुलाई राजविराज खान तथा बस्न असाध्यै समस्या उत्पन्न भएको थियो भने होटल तथा लजबालाहरुले मनमानी तरिकाले पैसा विद्यार्थीहरुबाट असुलेका थिए । एक जिल्लाबाट अर्को जिल्ला परीक्षा दिन गएकाहरूलाई आवास भोजनको लागि होटल, लज, धर्मशालामा ठाउँ नपाउँदा मन्दिर, चोक, खुला चौरमा बसेर रात काट्न बाध्य भएका थिए ।
आयोगले विगतमा मर्यादित, अनुशासित एवं चोरिरहित परीक्षा सञ्चालन गर्न नसक्दा यसपालि एक जिल्लाको अर्को जिल्लामा केन्द्र राखेर परीक्षा लियो । तर, परीक्षा केन्द्र निर्धारण गर्नु पर्ने पूर्व ध्यान दिनु पर्ने कुरामा आयोगले ध्यान नदिँदा परीक्षार्थीले भोगेको पीडाबाट हचुवाको भरमा केन्द्र निर्धारण गरेको स्पष्ट भएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
परीक्षालाई चोरिरहित बनाउने काम आयोग हो । परीक्षार्थीलाई सास्ती भोगाएर मर्यादित परीक्षा भन्न सकिँदैन । असहज वातावरण, मानसिक तनाव, शारीरिक कष्ट दिएर परीक्षा लिनुको भनेको फेल गराउने आन्तरिक नीति रहेको भान हुन्छ सिन्धुलीबाट राजदेवी माध्यमिक विद्यालयमा परीक्षा दिएका आएका सुशिल कुमार क्षेत्रीले बताए । यस्तो अवस्था सिर्जना गरेर परीक्षा लिनुको भनेको आयोग असफल भई सास्ती आयोग बनेको क्षेत्रीले टिप्पणी गरे ।