अशोक झा
राजविराज, ११ श्रावण । राष्ट्रिय परीक्षा बोर्डले बुधवार माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। जसअनुसार मधेश प्रदेशमा १५ सयभन्दा बढी विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।
बोर्डका अनुसार मधेस प्रदेशका १ हजार ५ सय ६१ विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए प्राप्त गरेका छन् भने प्रदेश १ का १ हजार १ सय ८७ विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए प्राप्त गरेका छन्।
त्यस्तै बागमती प्रदेशका ४ हजार ६ सय २ विद्यार्थीले उक्त जिपिए प्राप्त गरेका छन् भने गण्डकी प्रदेशका ७ सय ८४ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्।
लुम्बिनी प्रदेशमा उच्च जिपिए ल्याउनेको संख्या १ हजार २ सय २० छ भने कर्णाली प्रदेशका १ हजार १४ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशका १ सय ९५ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६ सय ४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २ सय ८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्।
त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ रहेको छ।
त्यस्तै २.० देखि २.४ जीपीए एक लाख १२ हजार ७३३, २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५९८ जना रहेको छ।
त्यस्तै ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ।