अशोक झा….
राजविराज, ०३ असोज । सप्तरी जिल्लामा शनिवार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिकाका ११, राजविराज नगरपालिकाका ६ तथा डाक्नेश्वरी नगरपालिकाका १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यादवका अनुसार राजविराज नगरपालिका वडा नं. ३ का २ जना, वडा नं. ८ का १ जना, वडा ९ का १ जनाको संगै १ जना प्रहरी र विद्युत प्राधिकरण कार्यालयका एक जना कर्मचारीमा संक्रमणको पुष्टि भएको निमित्त प्रमुख यादवले बताए ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अब देशमा संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।
कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतर्फी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।
प्रवक्ता गौतमका अनुसार १७ हजार १ सय २९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९ सय ४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५३ जना रहेका छन्।
२४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ। कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ।