https://youtu.be/bvCGosbf अशोक झा
राजविराज, १२ जेठ । नगरको विकासको लागि हरेक क्षत्रलाई एक ढिक्का भई अगाडी बढ्न राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादवले बताएका छन्।
सप्तरीको राजविराज नगरपालिकाका वडा नं. ९ मा नव निर्वाचित वडाअध्यक्षको पदभार ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राजविराज नगरपालिकामा देशकै पुरानो नगरी भए पनि नगरबासीले कहिले पनि विकास अनुभुति नगरेको कारणले आउने दिनहरु सबै जनप्रतिनिधिको लागि चुनौतीपूर्ण रहेको बताए । चुनौतीलाई चुनौती रुपमा नलिई अवसरको रुपमा लिएर अगाडी बढे पक्कै पनि सफलता मिल्ने विश्वास उनले व्यक्त गरे ।
वडा सचिव मो. आलमको अध्यक्षता तथा नगर उपप्रमुख इसरत परवीनको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रम मार्फत वडाअध्यक्ष जवाहर यादवले पदभार ग्रहण गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष यादवले वडाको विकास एकदमै चुनौती पूर्ण रहेको बताए । निवर्तमान जनप्रतिनिधिहरुकै कारण वडाको अवस्था तहस नहस भएको भन्दै अगामी दिनमा वडा नं. ९मा चौतर्फी विकास हुने बताए ।
कार्यक्रममा नगर उपप्रमुख परवीन, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य हरेकृष्ण प्रसाद सिंह “हरिबाबु”, प्रमुख प्रशासकीय अधिकृत भागेन्द्र प्रसाद यादव, जनता समाजावदी पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डल, प्रेस काउन्सिल पूर्व सदस्य मुरली प्रसाद यादव, वडा नं. ३, ११ र १५ का वडाअध्यक्षहरु क्रमशः अनिल कुमार दास, उदिन नारायण यादव र ओम नारायण साह सहितकाले शुभकामना मन्तव्य दिएका थिए ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा नं. ९ का वडाअध्यक्षमा जवाहर यादव निर्वाचित भएका थिए भने सदस्यहरुमा चन्दर यादव, मो. फिरोज, फिरोजा खातुन र रणु देवी यादव विजयी भएका थिए ।