अशोक झा
राजविराज, ११ जेठ । जनताको भावनालाई कदर गर्दै जनसेवामा अगाडी बढ्ने महदेबा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले बताएका छन् ।
सप्तरीको महदेबा गाउँपालिका वडा नं. १ मा निर्वाचित वडाअध्यक्ष लगायत अन्य प्रतिनिधिको बुधवार पदभार ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनताले आफ्नो पार्टीलाई विश्वास गरेर भरपुर मत दिएको कारण आफुहरु पनि जनताको भावनालाई कदर गर्दै अगाडी बढ्ने र आगामी दिनमा महदेबाका जनताले परिवर्तनको आभास गर्ने उनले बताए । कुनै पनि जनप्रतिनिधिले जनताको भावनालाई बुझेन वा समयमा सेवा दिनमा आनाकानी गरेमा सिधै गाउँपालिकामा गएर आफुलाई जानकारी दिन सर्वसाधारणलाई उनले आग्रह समेत गरे ।
पदभार ग्रहण गर्दै वडा नं. १ का वडाअध्यक्ष जयश्वर किशोर दास “जसो”ले जनताले लगातार दोस्रो कार्यकाल सेवाका दिएको प्रति आभार व्यक्त गर्दै विगतका कार्यकाल आफु नै तत्कालिन गापा अध्यक्षबाट पीडित भएको बताए । तत्कालिन गापा अध्यक्ष दिपक कुमार यादवले आफु र आफ्ना वडासँग सौतेला व्यवहार गरेको कारण सोच अनुसार जनताको सेवा गर्न नसकेको बताउँदै वडाअध्यक्ष दासले अगामी दिनमा जनताको सेवामा कुनै कसर नराख्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादव, कार्यपालिका सदस्य अनारवती राम, नेकपा माओवादी केन्द्रका नेता कृष्णदेव मण्डल, एकीकृत समाजवादीका नेता हजरत मियाँ, नेपाली काँग्रेसका नेता धनराज यादव, योगेश यादव, सेवा निवृत डीएसपी उपेन्द्र मण्डल सहितकाले नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए ।
३० गते सम्पन्न आसन्न स्थानीय तहका निर्वाचनबाट वडा नं. १ मा जयश्वर किशोर दास वडाअध्यक्षमा निर्वाचित भएका थिए भने कमल प्रसैला, रामदेव सदा, कोरेशा खातुन र रणु देवी सरदार सदस्यमा निर्वाचित भएका थिए ।
कार्यक्रममा सुरेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा संचालन कौशल किशोर दासले गरेका थिए ।