अशोक झा राजविराज, २६ भदौं । सन्तान तथा परिवारका अन्य सदस्यहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै मैथिल महिलाहरुको कठोर व्रत जितिया शुक्रवार सम्पन्न भएको छ । तराईमा बसोबास गर्ने विशेष गरी मैथिल महिलाहरुले संस्कृतिक पर्वका रुपमा जितिया मनाएका छन् । अन्तिम दिन शुक्रवार बिहान व्रतालुले जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा तेल लगाई त्यसमाथि अघ्र्य दिँई सोहि तेल आफना सन्तानका कपालमा लगाइ दिएका थिए ।
गत बुधवारबाट शुरु भएको जितिया व्रत लगातारको निराहार पश्चात शुक्रवार बिहान व्रतालुहरुले अन्न ग्रहण गरेका छन् । व्रतको प्रभावले आफना सन्तान हरेक क्षेत्रमा सफल हुने तथा दिर्घायु हुने विश्वास राख्दै पहिलो दिन ‘नहा, खा’ (नुहाएर खानु) विधि अनुसार पर्वको सुरुवात भएको थियो। यस दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) चढाइ पुजा गर्दै शुरु गरेका थिइन। विहिवार बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालुले ‘ओठगन’ (खानेकुरा ओठमा लगाउनु) सम्पन्न गर्दै लगातार निराहार बसेका थिए । २४ घण्टासम्म पानी पनी नखाई उपवास वस्ने यस व्रतमा थुक पनि निल्न नहुने मान्यता अनुसार उपवासको समयमा ‘जिमुतबहान भगवान’ को कथा सुन्ने गरेका थिए ।

