अशोक झा
राजविराज, ३ जेठ । सप्तरी सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टीका नगर प्रमुख र उप प्रमुखका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।
नगर प्रमुख पदका उम्मेदवार भिमराज यादव र उपप्रमुख पदका उम्मेदवार इसरत प्रवीणले सयौं मतान्तरले अग्रस्थानमा रहेका छन् ।
निर्वाचन कार्यालयले मंगलवार बिहान जारी गरेको तथ्याङ्क अनुसार यादव ३ हजार ४ सय ५८ मत सहित अग्रस्थानमा रहेका छन् भने नेपाली काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार इर्शाद अन्सारी १ हजार ८ सय ३२ र नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार शम्भु यादव १ हजार ३ सय ९२ मत ल्याई पछ्याई रहेका छन् ।
राजविराज नगरपालिका वडा नं. ५ र वडा नं १३ को मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडा नं. ५ मा जसपाका वडाअध्यक्ष पदका उम्मेदवार बन्धु दास २ सय ७७ मत सहित अग्र स्थानमा रहेका छन् भने माओवादी केन्द्रका संजय दास २ सय २३ र निवर्तमान वडाअध्यक्ष तथा नेपाली काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार समिर झा १ सय ८२ मत प्राप्त गरी संघर्ष जारी राखेका छन् ।
त्यस्तै वडा नं. १३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार त्रिलोकनाथ यादव २ सय ८९ मत सहित अग्रस्थानमा रहेका छन् भने जसपाका उम्मेदवार ९३ र माओवादी केन्द्रका उम्मेदवार ७३ मत सहित पच्छयाई रहेका छन् ।