अशोक झा…
राजविराज, २६ भदौं । सप्तरीमा शुक्रवार १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका ६ जनामा र राजविराज नगरपालिका वडा नं. ३ का ४ जनामा संक्रमणको पुष्टि भएको छ ।
राजविराजका संक्रमितहरु एकै परिवारका सदस्यहरु हुन् । उनीहरु नातामा बुवा, छोरा, छोरी र बुहारी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय २९ पुगेको छ ।
यसअघि बिहीवार अबेर राति आएको रिपोर्टमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ।
४४ वर्षीय प्रहरी नायव उरीरक्षक भर्खरै सप्तरी आएका हुन्। ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सरुवा भएर काठमाडौं जान लागेका हुन्। सरुवा भएर जिल्ला बाहिर जानु पर्ने भएकाले पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रहरी स्रोतको भनाइ छ।
हालसम्म सप्तरीमा ५७ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी तालिम केन्द्रका ३७ र जिल्ला प्रहरी कार्यालय मातहतका २० जनामा संक्रमण पुष्टि भएको हो।