अशोक झा
राजविराज, ०१ बैशाख । चुनावी प्रतिस्पर्धाबाट विजयी भएका उम्मेदवार राम प्रसाद मण्डललाई हटाइएको विरोधमा अन्य निर्वाचित पदाधिकारीहरुले दुःख व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस सप्तरीको १४ औं महाधिवेशनको क्रममा निर्वाचन प्रक्रियाबाट केन्द्रिय निर्वाचन समिति उपसभापति पदमा निर्वाचित राम प्रसाद मण्डललाई हटाई राम कुमार यादवलाई विजयी बनाएको भन्दै दुःख व्यक्त गरिएको हो ।
काँग्रेस सप्तरीका निर्वाचित उपसभापतिद्वय राम प्रसाद मण्डल, सचिवद्वय प्रभु नारायण चौधरी, सनत मण्डल, सहसचिवद्वय घनश्याम साह, मनोज कुमार खड्का, क्षेत्र नं. १ का सभापति ललन प्रसाद गुप्ता, क्षेत्र नं. २ का सभापति महानन्द प्रसाद यादव, क्षेत्र नं. ३ का सभापति भुपेन्द्र नारायण यादव र मधेश प्रदेशका सह–महामन्त्री परशुराम चौधरीले बिहीवार संयूक्त विज्ञप्ति जारी गरी केन्द्रिय निर्वाचन समितिको निर्णय प्रति खेद व्यक्त गरेका छन् ।
जारी विज्ञप्तिमा चुनावी प्रतिस्पर्धाबाट उपसभापति पदमा निर्वाचित मण्डललाई जिल्ला निर्वाचत अधिकृत डा. रुद्र शर्माले निर्वाचित घोषणा गर्नुको साथै कार्यवाहक निर्वाचन अधिकृत संतोष भण्डारीले पदभार समेत ग्रहण गराई सकेको अवस्थामा केन्द्रिय कार्यालयले कसैलाई कुनै जानकारी नदिई चैत्र २९ गते मण्डललाई पराजित देखाई राम कुमार यादवलाई विजयी नियुक्त गरिएको प्रति आश्चर्य व्यक्त गरिएको छ ।
केन्द्रिय निर्वाचत समितिको निर्णयलाई अबिलम्ब बदर गरी निर्वाचित उपसभापति मण्डललाई सदरको माँग गर्दै माँग पूरा नभए कडा भन्दा कडा आन्दोलनको चेतावनी समेत विज्ञिप्त मार्फत दिइएको छ ।