अशोक झा
राजविराज, २६ चैत्र । स्थानीय तहको चुनावमा सप्तरीको राजविराजमा नगर प्रमुख पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट दिपेन्द्र चौधरीका उम्मेदवारी हुने लगभग निश्चित भएको देखिन्छ ।
राजविराज नगरपालिका वडा नं. ११ फर्सैठमा शनिवार “संगठन सुदृढीकरण तथा सदस्यता वितरण” कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै लोसपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरले यस्तो बताएका हुन् ।
लोसपाका नेता कमाल मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै ठाकुरले भने –“बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा राजविराज नगरपालिकाका लागि लोसपाबाट नगर प्रमुख पदमा दिपेन्द्र चौधरी सम्भावित उम्मेदवार हुन् ।” ठाकुरको सम्बोधन गर्ने तरिकाबाट नगर प्रमुख पदमा लोसपाबाट चौधरीकै उम्मेदवारी पर्ने निश्चित रहे पनि उम्मेदवारी दर्ता नभए ठोकुवा गर्न नमिल्ने स्थानीय एक नेताले बताए ।
सोही कार्यक्रममा लोसपाका नगर प्रमुख पदका सम्भावित उम्मेदवार चौधरीले राजविराज नगरपालिका पहिलो भन्दा पनि दयनिय अवस्थामा पुगेको दाबी गर्दै वर्तमान नगर प्रमुख शम्भु कुमार यादवले पार्टीसँग राजनीतिक धोखा र नगरबासीसँग पदीय धोखा दिएको आरोप लगाए । नगर प्रमुख यादवले जनहितका काम नगरी आफ्नो नातागोताका केही व्यक्तिहरुलाई मात्र भरण पोषणमा लागेको बताउँदै स्वच्छ, सक्षम तथा दरगामी सोच भएका व्यक्तिलाई आगामी चुनावमा मत दिन चौधरीले आग्रह समेत गरे ।
राजविराज नगरपालिका वडा नं. ११ मा लोसपाको संगठनात्मक अवस्था सकारात्मक रहे पनि निर्वाचनमा वडाध्यक्ष पदका लागि महेश प्रसाद साह र उपेन्द्र यादव उम्मेदवारको आकाँक्षी रहेको दखिन्छ । कार्यक्रममा दुवै जनाले आ–आफ्ना मन्तव्य राखेका थिए भने मंचमा उपस्थिति पार्टीका नेताहरुले दुवै जना आँकाक्षी रहे पनि पार्टीको निर्णय अनुसार छिटै नै एकजनाको नाम सार्वजनिक गर्ने भएको छ ।
कार्यक्रममा राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, स्थानीय नेताहरु दिल्ली साह, जयराम यादव, हरि यादव, बृद्धि यादव लगायतकाको उपस्थिति थियो ।
यत्ता जन समक्षमा आफ्ना पहुच बनाएका यवा नेता महेश साहको नाममा सहमति हुने पार्टी स्रोतले जनाएको छ भने महेशको सोच, विकास प्रति माया, सहयोगी भावना तथा सहनशिलतालाई देखेर पार्टीले उनलाई नै वडाअध्यक्ष पदमा उम्मेदवार बनाउने विश्वास रहेको स्थानीयहरुले बताएका छन् ।