अशोक झा
राजविराज, २४ चैत्र । त्याग र तपस्याको पर्व पर्व सप्तरी सहित मिथिलाञ्चलमा बिहीवार अस्ताउँदो सुर्यलाई अघ्र्य दिई चैती छठ मनाईको छ ।
सदरमुकाम राजविराज सहित जिल्लाभरिका केही ठाउँका जलाशय, पोखरीहरुमा बिहीवार दिउँसो अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइएको हो ।
विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सकेसम्म सिंगारिएको छ ।
चैत शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । विगतमा मधेसमा मात्र सिमित छठ पर्व पछिल्लो समयमा काठमाडौं लगायतका केही पहाडी जिल्लामा समेत उल्लासका साथ मनाउन थालिएको छ।
छठ पूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अघ्र्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाइएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।