अशोक झा
राजविराज, २० चैत्र । प्रधानाध्यापकको कुटाईबाट घाइते भएका विद्यार्थीको उपचारको क्रममा मृत्यु भए पश्चात विद्यालयमा विद्यार्थीको उपस्थित न्यून हुँदै गएको छ ।
सप्तरीको महदेबा गाउँपालिका वडा नं. १ सोनरा स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको हो ।
विद्यार्थीको मृत्यु भए पश्चात अभिभावकहरुले बालबालिकालाई विद्यालय पठाउनमा संकोच मानि रहेका छन् भने बालबालिकाहरुमा समेत विद्यालय जानमा त्रास उत्पन्न भएको अभिभावकहरु बताउँछन् ।
सो विद्यालयका प्रधानाध्यापक बसन्त कुमार चौधरीको कुटाईबाट फागुन २३ गते स्थानीय डम्बर यादवका ९ वर्षिय बालक कमल यादव घाइते भएका थिए । घाइते बालकको उपचारको क्रममा राजविराज स्थित युनिक सिटि अस्पतालमा चैत्र ५ गते मृत्यु भएको थियो ।
यस सम्बन्धमा मृतक बालकको बुवा डम्बरले प्रहरीमा जोहरी समेत दिएका छन् भने प्रहरीले अहिले सम्म प्रधानाध्यापक चौधरीलाई पक्राउ गरेको छैन ।
यता, घटना पश्चात चैत्र ११ गतेसम्मका लागि विदामा रहेका प्रधानाध्यापक चौधरी चैत्र १८ गते विद्यालयमा उपस्थित भई १२ गतेदेखि १८ गतेसम्मका हाजिरी बनाएर पुनः विद्यालयमा अनुपस्थित हुन थालेको स्थानीय पुलकित सदालाई उद्धृत गर्र्दै संचारकर्मी देवराम यादवले बताएका छन् ।