अशोक झा
राजविराज, २० चैत्र । देशमा शोषित, पीडितहरुको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाई लडि रहने जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ तोपामा आइतवार सडकको शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । जनता समाजवादी पार्टीले मधेसी, मस्लिम तथा शोषित उत्पीडितको लागि लडदै आई रहेको र राज्य पक्षसँग राजनीतिक अधिकारको लडाई अहिले पनि जारी रहेको बताए । विभेदमा परेको सम्पूर्ण नेपालीहरुको अधिकार प्राप्त नहुञ्जेल जसपा लडाईबाट पछि नहटन्े बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही कार्यक्रममा भौतिक, योजना तथा यातायात मन्त्री रेणु कुमारी यादवले सप्तरीबासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गरिन् । सप्तरीका जनता सदैव सडक, शिक्षा र स्वास्थ्य सुविधाबाट वंचित रहेको कुरालाई जसपाले आत्मसात गरे, जसको फलस्वरुप अहिले सप्तरीमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको बताइन् ।
सोही कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले जसपाले होहल्ला नगरी जनचाहना अनुसारको विकास गरेको र आगामी दिनमा समेत विकासको कार्यलाई प्राथमिक्तामा राखेर जनहितमा कार्य गर्ने बताए ।
विशिष्ट अतिथीको आसनबाट सोही कार्यक्रममा प्रदेश सांसद मनिष सुमनले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारहरुलाई मत दिई विकास निर्माणको कार्यमा थप तिब्रता दिन आग्रह गरे ।
सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य निरज मुक्तिले स्वागत मन्तव्य दिएका थिए भने राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादव, महदेबा गाउँपालिकाका अध्यक्ष दिपक यादव “टुटुबाबु” लगायतले आ–आफ्ना शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा जसपाका केन्द्रिय सदस्य अशोक कुमार यादव, मिमराज यादव, सत्य नारायण यादव, राजविराज नगरपालिका वडा नं. २ का अध्यक्ष अरुण कुमार यादव, तारकेश्वर यादव, किशोर कुमार यादव केसी, लक्ष्मण यादव सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सो कायक्रममा राष्ट्रिय अध्यक्ष यादवले महदेबा गाउँपालिकाको सोनरा देखि तिलाठी कोइलाडीको तोपा, सकरपुरा हुँदै हनुमाननगर कंकालिनी नगरपालिकाको डलबा सम्मको करिब १६ किलोमिटर सडकको शिलान्यस गरेका छन् ।
सो सडकको चौडाई साढे ७ मिटर हुनेछ भने ५४ करोडको लागतमा निर्माण हुने सो सडक निर्माणको समयावधि दुई वर्षको रहेको पूर्वाधार कार्यालय लहान सिरहाका डिई राजेश लाल कर्णले कार्यक्रम मार्फत जानकारी गराए ।
यस अघि राष्ट्रिय अध्यक्ष यादवले राजविराज नगरपालिका वडा नं. १० स्थित बिरौल चौकमा आयोजित कार्यक्रम मार्फत बिरौल देखि छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित लालापट्टीसम्मको करिब १६ किलोमिटरको सडकको शिलान्यास समेत गरेका थिए ।