अशोक झा…
राजविराज, २४ भदौं । सप्तरी सदरमुकाम राजविराज सहित मधेशी महिलाले मनाउने कठोर पर्व जितिया सुरु भएको छ ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोनाको त्रास र निषेधाज्ञाको माहौलका बीच रहेर पनि पर्वको पहिलो दिन बुधबार ब्रतालु महिलाहरुले बिहानै स्थानिय खोला, नदी, पोखरी लगायतका जलाशयमा गएर स्नान गरि घिरौलाको पातमा पिन, तोरी तेल, घिरौलाको फुल, सिन्दुर चढाएर जितवाहन भगवानको पूजा आराधना गरि पर्वको सुरुवात गरेका छन् । राजविराजमा स्थानिय प्रशासनले निषेधाज्ञा जारि गरेको कारण बजार क्षेत्रमा त्यति भिडभाड देखिएको छैन ।
आश्विन कृष्णपक्षको सप्तमीका दिन जलाशयमा तेल, पिन आदि चढाएपछि सुरु हुने यो तिन दिने पर्वमा महिलाहरु घरमा मरुवाको रोटी, माछा लगायतका परिकार खान्छन् । यस पर्वमा जितवाहन देउताको पूजा गरे सन्तानको आयू लामो हुने तथा परिवारमा सुख, शान्ति छाउने धार्मिक विश्वास रहेको छ ।
‘जितिया पावनि बड भारी
धियापूताके ठोकी सुतौलनी
अपना खयलनि भरि थारी’
अर्थात् जितिया पर्व धेरै ठूलो पर्व हो । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविक सत्यता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो।
यस वर्ष ब्रतालु महिलाहरुले बुधबार जितवाहन देउताको प्रसाद ग्रहण गरेपछि ७२ घण्टासम्म निर्जला अथार्त पानी समेत सेवन नगरिकन उपवास बस्ने बताइएको छ ।