अशोक झा
राजविराज, ११ चैत । सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाभरिमा चुनावी चर्चामा तिब्रता आएको छ ।
चुनाव नजिकिदै जाँदा सप्तरी जिल्लाको १८ वटै स्थानीय तहको चौक–चौराहा, पसल तथा घर–घरमा चुनावी चर्चाले तिब्रता पाएको छ ।
सरकारले आगामी बैशाख ३० गतेको लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन तथा बैशाख ११ र १२ गते उम्मेदवारहरुको मनोनयन दर्ताको लागि सूचना गरी गरे पश्चात सप्तरीमा चुनावी महौल बन्दै गएको छ ।
जिल्लामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा कम्युनिष्ट पार्टी (समाजवादी), नेपाली काँग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरुले चुनावीमा टिकट आफ्नो पक्षमा पार्न दौडधुपमा लागेका छन् भने केही नेता तथा कार्यकर्ताहरुले टिकट आफुले नै पाउने विश्वासका साथ जन–जनमा प्रचार प्रसारमा समेत लागेका छन् ।
सप्तरीमा जनता समाजवादी पार्टी नेपालबाट मेयर पदका प्रत्यासी तथा केन्द्रिय सदस्य भिमराज यादव र राजविराजका नगर प्रमुख शम्भु यादवले टिकट आफुले नै पाउने दाबी गरी रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट साधना झा, दिपेन्द्र चौधरी, अमरकान्त झाले नगर प्रमुख पदको टिकटको लागि दाबी गर्दै आएका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट इर्शाद अन्सारी, धु्रव देव र शम्भु देवको नाम चर्चामा रहेको छ भने अन्य पार्टीहरुका नेताहरुले समेत चुनावी टिकटलाई दौडधुपमा लागेका छन् ।