ईमधेश न्यूज सम्वाददाता
काडमाण्डौं चैत ८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा अन्तर्क्रिरया गर्ने भएको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तर्क्रिरया गर्न लागेको बताएका हुन् ।
आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा ९ देखि १७ चैतसम्म आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीसँग छलफल गर्न लागेको उनले बताए ।
त्यस्तै राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ दलले जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण पेश गरेका प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगले ११०२ नम्बरको टोलफ्री नम्बर १५ चैतदेखि सुरु गर्न लागेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उनले बताए ।
यसैबीच स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् ।
राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।
अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । प्राप्त भएको विवरण अध्ययन गर्ने र जुन–जुन जिल्लामा सङ्गठन र समिति छ, ती जिल्लामा मात्रै दलका उम्मेदवारले चुनावमा आफ्नै दलको चुनाव चिह्न पाउनेछन् ।