अशोक झा
राजविराज, ४ चैत्र । सप्तरी सहित मधेश प्रदेशमा आज (शुक्रवार) होली मनाइदै छ । होलीको अवसरमा सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाभरिमा हर्षोल्लास वातावरणमा होली पर्व मनाइदै छ ।
विगत दुई वर्ष वैश्विक महामारीको रुपमा फैलिएको कोरोनाको कारण सार्वजनिक स्थानहरुमा होली मनाउन सरकारले प्रतिबन्ध लगाएका थिए । तर, यस वर्ष कोरोनाको संक्रमणदरमा कमि आएको कारणले सरकारले पनि होली मनाउनमा छुट दिएको छ ।
प्रशासनले समेत सुचना जारी गरी सर्तकताका साथ होली मनाउन आग्रह गरेको । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
बिहीवार हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।
मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तरगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार बिहीवार जनकपुरधाम पुगेको परिक्रमा शुक्रवार अन्तरगृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइने छ । यसअनुसार यसपालि मधेश प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।
होली पर्वलाई सभ्य र शालीन ढंगले मनाउन प्रशासनिक निकाय र सामाजिक संघ संस्थाले आग्रह गरेका छन् । ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबरजस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका छन् ।