अशोक झा
राजविराज, २९ फाल्गुन । मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले भ्याए सम्म पत्रकारहरुको हितका लागि काम गर्न प्रदेश सरकार तत्पर रहेको कुरा बताएका छन् ।
प्रदेशको मिडिया काउन्सिलले आइतवार राजविराजमा आयोजना गरेको “संचार माध्यम र पत्रकार आचार संहिता निर्माण” सम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री साहले केन्द्रबाट प्रदेशलाई अति न्यून बजेट दिने गरेको भए पनि प्रदेश सरकारले मिडिया क्षेत्रलाइृ विशेष महत्वका साथ हेर्ने र सकेसम्म यसको उत्थानका लागि काम गर्ने प्रतिबद्धता जनाए । सोही कार्यक्रममा आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबी कुमारी कर्णले संचार क्षेत्रलाई प्रदेश सरकारले प्राथमिक्ता दिए जस्तै पत्रकारले पनि आचार संहिता पालना र आफ्नो जिम्मेवारी प्रति इमान्दारीका साथ लाग्नु आवशयक रहेको बताइन् । उनले संचार क्ष्ोत्रसित हातेमालो गरेरै प्रदेश सरकार काम गर्न तत्पर रहेको बताए ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षतामा संचालित कार्यशाला गोष्ठीमा आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मधेश प्रदेशको संचार क्षेत्रको विकासका लागि प्रयत्नशिल रहेको र प्रदेश सरकारको सहयोगमा आगामी दिनमा योजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, महासंघका प्रदश अध्यक्ष राजेश कर्ण, प्रदेश सचिव भोला पासवान, महासंघका सप्तरी अध्यक्ष श्रवण कुमार देव, सिरका अध्यक्ष मनोज बैनता यादव सहितकाले शुभकामना मन्तव्य दिएका थिए ।