अशोक झा…
राजविराज, २३ भदौं । सप्तरी जिल्लामा मंगलवार २५ जना कोरोना संक्रमित थपिएका छन् ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाब परीक्षणबाट सदरमुकाम राजविराजमा ५ र हनुमाननगर कंकालिनी नगरपालिकाका १९ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
नयाँ संक्रमितहरुलाइ आइसोलेशन कक्षमा ल्याउने तयारी भइ रहेको छ ।
यसैबीच नेपालमा २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् भने ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । कोरोना जित्नेको यो संख्या ६८.५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए। पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ ।
२४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको छ। अहिले होम आइसोलेसनमा ६ हजार ८ सय १५ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन्।
नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्।