अशोक झा….
राजविराज, भदौं ०८ ।
सप्तरीको राजविराजमा सडकबत्तीलाई लिएर नेपाल विद्युत प्राधिकरण र राजविराज नगरपालिकाबीच भिषण मनमुटाव सामुन्ने आउने निश्चित भएको छ ।
मनमुटावका प्रमुख कारण हो सडकबत्तीमा लापरबाही । राजविराज नगरपालिका अन्तरगत राजविराज बजार क्षेत्रको क्षेत्रफल ६० बिगहामा रहेको छ । यस क्षेत्रफलमा नेपाल विद्युत प्राधिकरणको आफ्ना सेवा संचालन करिब ३६ देखि ३७ सय बिजुली पोल (खम्बा) मार्फत विद्युत सप्लाई दिदै आएका छन् ।
राजविराज नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा जडान गरिएको बिजुली पोलहरुमा २४ औं घण्टा सडकबत्ती अनावश्यक बलि रहेको सहजै देखिन्छ । अनावश्यक रुपमा बलेको सडकबत्ती नियन्त्रण नगरेको कारण वर्षेनी हजारौं रुपैयाँ बराबरको क्षति नगरपालिकाले व्यहोर्ने निश्चित रहेको नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले बताए । अनावश्यक रुपमा सडकबत्ती बलेपनि त्यसको बिलिङ्ग प्राधिकरणले पक्कै पनि गर्ने नै छ र जनताको मिहिनेतबाट आएको पैसा प्राििधकरणलाई दिइयो भने यसको हरहिसाब नगरपालिकाका प्रमुखलाई जनता समक्ष पक्कै पनि दिनै पर्छ अध्यक्ष यादवको भनाई छ ।
यत्ता नगरपालिका क्षेत्रमा बालिएको बत्तीको बिलिङ्ग वापतको रकम एक दिन पक्कै पनि नगरपालिकाले बुझाउनै पर्छ विद्युत प्राधिकरण शाखा सप्तरीका कार्यालय प्रमुख आमोद कुमार यादवले बताएका छन् भने नगर क्षेत्रमा प्राधिकरणद्वारा गाडिएको बिजुली पोलको भाडा पनि प्राधिकरणले दिनै पर्छ राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवले दाबी गरेका छन् । दुवै पक्षको यष्स्तो दाबी पश्चात एक दिन पक्कै पनि प्राधिकरण र नगरपालिकाबीच मतान्तर हुने निश्चित देखिएको छ ।
यसैबीच प्रदेश नं. २ का विद्युत प्राधिकरणका प्रमुख मनोज सिंहले सडकबत्तीमा लापरबाहीको समस्या प्रदेश भरी रहेको बताए । सडकबत्ती पूर्णरुपमा नगरपालिकाको मातहतमा रहेको भन्दै यस्तो लापरबाही तर्फ सम्बन्धित नगरपालिका सचेत हुन आवश्यक रहेको प्रमुख सिंहले बताए ।