अशोक झा
राजविराज, २९ फागुन । प्रधानमन्त्री इमान्दार नभए आगामी स्थानीय तहको चुनावमा गठबन्धन बिना नै जाने नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व आपूर्ति मन्त्री मातृका प्रसाद यादवले बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराज स्थित उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् ।
कुर्नै पनि निर्वाचनमा जानका लागि गठबन्धन भन्दा पनि आफ्नो बलमा र चुनावी तयारीमा विश्वास राख्नु पर्ने भएको हुनाले चुनावको लागि आफ्नै शक्ति, ताकत र विश्वास महत्वूर्ण पाटो रहेको बताए । पार्टीको आफ्नै शक्ति छैन भने गठबन्धन गरेर पनि केही हुँदैन बताउदै उनले साथीहरुले गठबन्धनमा जोड दिनु स्वभावीक भएको बताउँदै आफ्नो शक्तिमा जोड दिएर गठबन्धनमा ध्यान दिनु आवश्यक रहेको बताए । विगतमा पनि गठबन्धनको सरकार हुँदा पार्टीहरु अलग अलग तरिकाले चुनावमा गएको भन्दै उनले चुनावका लागि आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने सुझाव राखे ।
केही अवसरवादीहरुको प्रवेशले पार्टी कमजोर बनेको स्वीकार्दै नेता यादवले कम्युनिष्ट आन्दोलनमा देखिएको संकटप्रति सबै संवेदनशील बन्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव सप्तरी इन्चार्ज अशोक मंडल , केन्द्रीय सदस्य सूर्यनाथ यादव, मधेश प्रदेश सदस्य महेश प्रसाद यादव, छेदी रजक, अरूण साह सहितका नेताहरुको उपस्थिति रहेको थियो ।