अशोक झा
राजविराज, २८ फाल्गुन । सप्तरीमा नेपाली काँग्रेसको नव नेतृत्वका लागि सम्पन्न निर्वाचनबाट सभापतिमा संस्थापन इतर पक्षका उम्मेदवार विजयी भए पनि अन्य पदमा संस्थापन पक्षको वर्चश्व रहेको छ।
उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका छन् भने पराजित भएका डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुबनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गरेका छन् ।
सचिव पदमा संस्थापन पक्षका प्रभुनारायण चौधरी १ हजार १ सय ८२ र सनत कुमार मण्डल १ हजार ७५ मत ल्याएर निर्वाचित भएका छन् भने कोइराला पक्षका नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादवले ७ सय ४५ मत प्राप्त गरे ।
त्यस्तै सहसचिवमा संस्थापन पक्षका घनश्याम साह “घन्सी” १ हजार २ सय ६५ र मनोज कुमार खड्का १ हजार ८६ मत ल्याएर निर्वाचित भएका छन् भने कोइराला पक्षका रामसुन्दर मण्डल ८ सय ४५ र मुश्लिम मियाँले ७ सय ५० मत पाए ।
यसअघि पार्टीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साहले १ हजार १ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए भने संस्थापन पक्षका शत्रुधन प्रसाद यादव १ हजार ७७ मत मात्र प्राप्त गर्न सकेका थिए ।