अशोक झा
राजविराज, फागुन २८ । स्थानीय तहको निर्वाचनको घोषणा सरकारले गरी सकेको छ । निर्वाचन आयोगले समेत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारीको प्रक्रिया पनि शुरु गरी सकेको छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जनप्रतिनिधिहरुको मनमानी र आपसी खिचातानीको कारण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मको हाल बेहाल भएको छ ।
“आफु ठुलो त आफु ठुलो” होडमा लागेका जनप्रतिनिधिहरुको कारण गाउँपालिका प्रायः विवादको शिकार हुँदै आएको छ । जनप्रतिनिधिको आपसी द्वन्दको कारण गाउँपालिका प्रायः प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदै आएको छ भने अधिकृत आए पनि अख्तियारी तथा गाउँपालिकाका अध्यक्ष सूर्य नारायण मण्डल “कुडुर” र उपाध्यक्ष उषा कुमारी मण्डलको खिचातानीको कारण नाम मात्रको अधिकृत भएर बस्ने गरेका छन् । अध्यक्ष र उपाध्यक्षको विवादको कारण विकासीय कामकाज ठप्प त छन् नै । स्वास्थ्य चौकीमा औषधी अभावदेखि विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकसम्म अभाव भइरहदा समेत गाउँपालिका कार्यालयमा कहिले तालाबन्दी त कहिले जनप्रतिनिधिबीच कुटाकुट नै हुने गर्छन् । समस्या समाधानतर्फ पहल गर्नुपर्नेमा जनप्रतिनिधिले कर्मचारी र कर्मचारीले जनप्रतिनिधिमाथि दोषारोपन गर्दै आएका छन् । जसको प्रत्येक्ष मार सर्वसाधारणले खेप्दै आएका छन् ।
बुधवार गाउँपालिकाको कार्यालयमा स्थानीयहरुले नागरिक आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको भवनको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरे । ‘ऋण उठाएर घर निर्माण गरेतापनि गाउँपालिकाले वर्षौदेखि भुक्तानी दिन आलटाल गर्दै आएको छ’ स्थानिय इनर देवीले भनिन् ‘आइतवार भुक्तानी पाउने आश्वासन पाएको थिए तर भुक्तानी नदिएपछि आन्दोलित हुनु पर्यो ।’ अर्की फुलोदेवी मुखियाले पनि त्यस्तै समस्या सुनाइन् । ‘हामी जस्ता गरिबहरुको समस्या बुझ्ने कोँही छैन्, पहुचवालाहरुले सबै थोक पाउँछन् तर स्थानीय सरकारको सहयोगमा आउने कुनै सहयोगमा आफुहरु पर्ने गरेको छैन्’ उनी भन्छिन्–‘अहिले त जसोतसो बस्ने गर्छु तर वर्षाको समयमा अर्काकै घरमा वास लिनुपर्ने अवस्था आउँछ ।’
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण यादवले अख्तियारी नपाइएकाले कुनै पनि किसिमको भुक्तानी गर्न नसकिएको बताए । ‘अख्तियारी पाएको छैन्, अख्तियारी नपाएपछि आर्थिक कारोबार गर्ने ठाउँ नै नभएर सबैको भुक्तानी रोकिएको छ’ उनले भने । अति आवश्यक स्टेसनरीको लागि समस्या हुँदै आएको बताउँदै गाउँपालिका अन्तर्गत रहेका वडा कार्यालयहरुमा आवश्यक पर्ने जन्म दर्ता, मृत्यु दर्ता र विवाह दर्तासहितका काग्जातहरु समेत पठाउन नसकिएको बताए ।
स्वास्थ्य चौकीमा औषधी अभावको समस्या एकातिर र अर्को तिर कोरोना महामारीको बीच सो गाउँपालिकाका वडा नं. ४ लालापट्टीमा मानिसदेखि पशु चौपायामा समेत अज्ञात रोग देखा परेको थियो । हुन त त्यो रोगबाट मानवीय क्षति नभए पनि पशु चौपायाको व्यापक क्षति भएको थियो । एका तिर कोरोना र अर्को तिर अज्ञात रोगको प्रकोपको समयमा पनि गाउँपालिकाका जनप्रतिनिधिले कुनै पहल गरेको कारण रोगको संक्रमण आफ्नो क्षेत्र विस्तार गरी रहेको देखेर धर्मी हल्फा क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले आफ्नो व्यक्तिगत पहलमा स्वास्थ्य चौकीलाई औषधी व्यवस्था गराई दिएका थिए र, त्यतिबेला रोग नियन्त्रणमा आएको यथार्थले समेत गाउँपालिकाका जनप्रतिनिधिलाई कुनै लाज नलागेको स्थानीय मनोज यादवले इमधेश न्यूजलाई बताए ।