अशोक झा…
राजविराज, २२ भदौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगर क्षेत्रमा निषेधाज्ञालाई एक हप्ताका लागि थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा सोमवार जारी गरिएको विज्ञप्ति अनुसार राजविराज नगरपालिका क्षेत्रमा निषेधाज्ञा पूर्णरुपमा जारी रहने छ भने जिल्लाका अन्य भागमा खुकुलो गरिएको छ । प्रशासन कार्यालयका अनुसार भदौं २९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
राजविराज क्षेत्रमा कोरोना संक्रमितको संख्यामा उल्लेखनीय बृद्धि भइ रहेको समयमा नगरको पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प नहर, पश्चिममा छिन्मस्ता डेरी उद्योगको नाला र दक्षिणमा बागेश्वरी मन्दिर भित्रका क्षेत्रमा निषेधाज्ञालाई कडाईका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमा आग्रह समेत गरेको छ । निषेधाज्ञाको अवधीमा बिहान ५ बजेदेखि १० बजेसम्म खाद्यान्न, फलफुल तथा तरकारी पसल संचालन गर्न निर्देशन समेत दिएको छ ।
राजविराज बाहेक जिल्लाका अन्य क्षेत्रमा जोर गते जोर नम्बर तथा विजोर गते विजोर नम्बर अनुसार निजी सावारी साधन मापदण्डको पालना गर्दै संचालन गर्न पाइने भनिएको छ भने सिटी रिक्सा जोर विजोर प्रणाली अनुसार यातायातको मापदण्ड पूरा गरी बढीमा २ जनालाई राखेर संचालन गर्न आग्रह गरेको छ ।
खाद्यवस्तु, तरकारी, इन्धन, खाना पकाउने ग्याँस, फलफुल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका व्यवसाय संचालकलाई ग्राहकको तापक्रम नाप्ने, २ मिटरको भौतिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजर प्रयोग गर्ने गराउनको लगायतका निर्देशन समेत दिइएको छ ।