अशोक झा
राजविराज, २३ फाल्गुन । सप्तरीको मलेठमा सोमवार पाँचौं मधेसी सहिद स्मृति दिवस मनाइएको छ।
राजविराज नगरपालिका वडा नं. ९ स्थित मलेठमा एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको हो ।
स्थानीय रामचन्द्र यादवको अध्यक्षता तथा सहिद संजय मेहताका पिता लक्ष्मण मेहताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले उपस्थिति थियो । कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, जसपाका नेतृ एवं पूर्व सांसद लक्ष्मी चौधरी, रमिला साह, किशोर कुमार यादव केसी, लोसपाका दिपेन्द्र चौधरी सहितका वक्ताहरुले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन जसपा नेता लक्ष्मण यादवले गरेका थिए ।
२०७३ साल फागुन २३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालिन मेची काली यात्राका क्रममा प्रहरीको गोली लागेर मलेठमा स्थानीय सञ्जन मेहता, पिताम्बर मण्डल र बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सो घटनाका क्रममा ज्यान गुमाएका पाँचै जनालाई सरकारले सहिद घोषणा गरेको थियो ।
कार्यक्रममा पाँचै जना सहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।