अशोक झा
राजविराज, १९ कार्तिक । मुलुक भर रहेको दलित, मस्लिम, आदिवासी, जनजाति सहित पीडित जनताको हक अधिकारको आवाज उठाउने एक मात्र पार्टी जनता समाजवादी पार्टी रहेको सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले बताएका छन्।
नेपाल सम्वत् ११४२ को अवसरमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १२ वस्तीपुर स्थित नेवाः समाजको गुठी सभागृहमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साहले यस्तो बताएका हुन् ।
नेवार समुदायका अगुवा जीत बहादुर श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जनता समाजवादी पार्टी कुनै एक समुदायको पार्टी नभएर देशमा रहेको मधेशी, मुस्लिम, आदिवासी, जनजाति लगायत राज्य पक्षबाट पीडित भएका जनताको आवाज उठाउने पार्टी रहेको मन्त्री साहले बताए ।
मधेसी र नेवार समुदायको समस्या उस्ता उस्तै रहेको र मधेसी तथा नेवार समुदायलाई राज्य पक्षले उपेक्षित गरेकै कारण देशमा समय–समयमा विभिन्न आन्दोलन समेत भएको स्मरण गर्दै नेवार समुदायको अधिकारको लागि जसपा लड्दै आएको र आगामी दिनमा पनि लडी रहेने बताए ।
वर्तमानको देउवा नेतृत्को सरकारमा जसपाबाट सहभागी चार जना मन्त्री मध्ये एकजना नेवार समुदायबाट नै राखिएकोले जसपाले नेवार समुदायलाई सदैव सम्मान दिदै आएका मन्त्री साहले बताए ।
कार्यक्रममा पूर्व वातावरण मन्त्री हेमराज तातैड, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र, उप प्रमुख निरु पोख्रेल, वडा नं. १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, नेपाल आदिवासी जनता महासंघका अध्यक्ष बृजमान तामाङ्ग, मधेश न्यूजका अशोक झा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ सचिव भोला पासवान, योग प्रशिक्षक काशीनाथ जोशी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।