अशोक झा
राजविराज, ०६ असोज । सप्तरीमा बुधवार पानीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।
जिल्लाको महदेबा गाउँपालिका वडा नं. २ अकबरपुर बस्ने रामचरित्र मण्डलकी ५ वर्षिया छोरी सिवानी मण्डलको पानीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको थान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको र मृत बालिकाको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि मंगलवार मात्रै पानी डुबेर तीनजनाको मृत्यु भएको थियो ।
जिल्लाको खडक नगरपालिका वडा नं. ८ मुसहरिनयाँमा राजेशकुमार चौधरीकी ३ वर्षिया छोरी एलिजाकुमारी चौधरीको घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । पोखरीमा डुबिरहेको अवस्थामा उनलाई काका रामकुमार चौधरीले निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
त्यसैगरी महादेवा गाउँपालिका वडा नं. ४ परसाही टोल बस्ने ३० वर्षीया लक्षनकुमारी सदाको पोखरीमा लडेर मृत्यु भएको हो । छारे रोगबाट पीडित सदा पानीमा अचानक लडेकी थिइन र सोही क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर २ लौनियाकी १२ वर्षीया सबना खातुन घर नजिकैको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो ।