अशोक झा
राजविराज, २९ भदौं । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुदै गई रहेको प्रति राजदेवी ठोकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले चिन्ता व्यक्त गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. १ स्थित रहेको राजदेवी माध्यमिक विद्यालयमा अहिले पनि पठनपाठनमा सुधार हुने विश्वास व्यक्त गर्दै सो विद्यालयमा गाउँघरका दलित, विपन्न सहित सबै थरिको विद्यार्थीहरुको पठन पाठन हुने उनले बताए ।
विगतका दिनमा विद्यालयको अवस्थालाई स्मरण गर्दै केही व्यक्तिहरुको कारणले अहिले विद्यालयका शिक्षकहरु तिरस्कृत भई रहेको भन्दै शैक्षिक सत्र ०७८÷०७९ बाट विद्यालय तथा कक्षा संचालनको गतिविधिमा सुधार ल्याउने प्रधानाध्यापक यादवले बताए । जुन विद्यालयबाट आफुले शिक्षा आरम्भ गरेका थिए, त्यहीँ विद्यालयमा प्रधानाध्यापक बन्न पाउँदा खुशी व्यक्त गर्दै प्रअ यादवले विद्यार्थीको भविष्यको लागि सानोमा सोचेको कुरा अहिले आएर पूरा गर्ने अवसर पाउँदा अति नै खुशी लागेको बताए ।
विद्यालयको भौतिक, आर्थिक तथा विद्यार्थीको संख्या देखेर जिम्मेवारी पूरा गर्ने चुनौतीलाई स्वीकार गर्दै प्रअ यादव सहित विद्यालयको शिक्षक÷शिक्षिकाहरुले मंगलवारबाट विद्यार्थी खोज्ने अभियान शुरु गरेको छ । अभियानका अन्तर्गत राजविराज नगरपालिकाका झल्ही, फर्सैठ, रामपुर सहितका गाउँका घर–घरमा गएर राजदेवी माविमा विद्यार्थी भर्नाका लागि अनुरोध समेत गरेका छन् ।
शिक्षा समन्वय ईकाई कार्यालयका अनुुसार भदौं १५ देखि ३० गतेसम्म विद्यार्थी भर्नाका समयसिमा निर्धारण गरेपनि प्रअ यादव भदौं २७ गते सो विद्यालयमा प्रधानाध्यापक रुपमा हाजिर भएका थिए । प्रधानाध्यापकमा हाजिर भए लगत्तै उनले विद्यार्थी भर्ना अभियानलाई प्राथमिक्तामा राखेका छन् ।
अभियान टोलीमा प्रअ यादवको संगै चित्ररेखा देव, मोहन यादव, भगवती चौधरी, चन्दन देव, विन्देश्वर प्रसाद यादव, वैद्यनाथ यादव, रेखा मण्डल, शम्भु साह, अनिता मिश्र, ललिता साह, सोनी यादव, रम्भा झा, रेखा यादव, सोनी कुमारी मण्डल, दिपेन्द कुमार यादव, फुशेश्वर यादवलगायतका शिक्षक÷शिक्षिका सहित विद्यालयका अन्य कर्मचारीहरुको सहभागीता थियो ।