अशोक झा
राजविराज, २८ भदौं । सप्तरी सदरमुकाम राजविराजमा उपचार गराउन आएका विरामीहरु दलालहरुबाट ठगिने गरेका छन् ।
राजविराज नगरपालिका स्थितका गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता अस्पताल, अनार भुपेन्द्रनाथ अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने विरामीहरु दलालबाट ठगिने तथ्य बाहिरिएको हो ।
गजेन्द्र नारायण सिंह अस्पतालमा ओपीडीको टिकट काटेर उपचार गराउन बाहिरबाट आएका सोझासाझा विरामी तथा विरामीका आफन्तहरुलाई अस्पताल हाता भित्र अनाधिकृतरुपमा घुमिरहेका दलालहरु ललाई फकाई नजिदकको प्याथोलोजि क्लिनिक, एक्स–रे क्लिनिक तथा औषधी पसलहरुमा लगेर कमिशन असुल्ने गरेको एकजना विरामीले बताए ।
अस्पतालको हाता भित्र ओपीडीको टिकटबाट डाक्टरसँग चेकजाँच गराएर बाहिरिएका सोझासाझा विरामीहरुलाई ती दलालहरुले पूर्जा लिएर यो जाँच अस्पतालमा हुँदैन, बाहिर गराउनु पर्छ, तपाई मसँग हिन्नुस् बाहिर राम्रो ठाउँमा प्याथोलिजिकल जाँच, एक्स–रे गराई दिन्छु भन्दै पायक पर्ने ठाउँमा लगेर चेकजाँच गराई १० देखि २५ प्रतिशतसम्म कमिशन असुल्ने गर्ने गरेको स्रोतले जनाएको छ ।
एकजना विरामीको चेकजाँच वापत प्याथोलोजि क्लिनिकबालाले १० देखि २५ प्रतिशत कमिशन दिने, एक्स–रे बालाले प्रति एक्स–रे ५० देखि १०० रुपैयाँ तथा औषधी पसलेले ८ देखि १५ प्रतिशतसम्म दलालहरुलाई कमिशन दिने गरेको स्रोतको दाबी रहेको छ ।
त्यस्तै नगरका मुख्य चौकहरु शहीद दशन (नेता) चौक, अस्पताल चौक तथा अस्पतालका प्राङ्गणहरुमा दलालहरु सहजै घुमि रहेको देखिन्छ । नगरबाहिरबाट उपचारका लागि आउने विरामीलाई बाटोमै ललाई फकाई कमिशन पाउने डाक्टर, प्याथोलोजि क्लिनिक, एक्स–रे क्लिनिक तथा औषधी पसलमा लगेर सहजै ठगि गर्ने गरेको देखिन्छ ।
यस सम्बन्धमा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित कुमार झालाई टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएन् ।