-
अशोक झा….
राजविराज, २० भदौं । सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाका बजारहरुमा जडिबुटीको बिक्री वितरणमा बृद्धि भएको छ ।
मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गरेको भन्दै जडिबुटीको बिक्री वितरणमा बृद्धि भएको व्यापारीहरु बताउँछन् ।
राजविराज तरकारी हटियामा जडिबुटीका पसल संचालन गर्दै आएका मनोज साहका अनुसार बेसार, अदुवा, गुर्जो, तुलसी, लंग, मरिच, दालचिनी लगायतका आयुर्वेदका सामानहरुको बढी बिक्री हुने गरेको बताए । कोरोना भाइरस विरुद्धको औषधी पत्ता नलागेको र घरमा वरिपरि रहेका विभिन्न जडिबुटीको प्रगोगले कोरोना लाग्नबाट बच्ने महत्वपूर्ण उपाय भएको भन्दै यस्ता जडिबुटीको बिक्री बढेको व्यापारी साहले बताए ।
बिहान÷बेलुका गुर्जोको रस एक÷एक गिलास, दिनमा तीन÷चार पटक तुलसी र अदुवा तथा बेसार हालेर पकाएको पानी खाएमा कोरोना लाग्ने सम्भावना कम रहेको स्वास्थ्यकर्मीहरु पनि बताउँछन् ।
राजविराज नगरपालिकाका एक जनाले कोरोनामाथि जित प्राप्त गर्दै होम आइसोलेशनमा बसेको बेला आफुले गुर्जोको तातो झोल, तुलसी, बेसार, अदुवा र सख्खर मिसाएर पकाइएको तातो पानी तथा दैनिक तीन÷चार पटक हरियो पत्तीको चिया खाएरै स्वस्थय भएको सुनाए ।
गुर्जोको तातो झोल र तुलसी, बेसार, अदुवा र सख्खर मिसाएर पकाइएको तातो पानी तथा दैनिक तीन÷चार पटक हरियो पत्तीको चिया खाएरै १५ दिनभित्र कोरोनालाई परास्त गंर्न सफल भए उनले सुनाए । अहिले आफ्नो घरपरिवार र भेटेजति सबैलाई घरमै बसेर यी वनस्पतीय जडिबुटी प्रयोग गर्न उनले सल्लाह पनि दिए । जताततै यी वनस्पतिको प्रयोगबारे चर्चा बढेपछि घरघरै यसको प्रयोग बढ्दै गएको छ । पछिल्लो समय त जताततै हुर्केका रुख र झाडीहरुमा बाक्लै देखिने गुर्जोको लहरा अब सङ्कलन गरेर दुई÷चार पैसा आर्जन गर्ने पनि भेटिन थालेका छन् ।
यसैबीच भान्सामा प्रयोग हुने मसलाहरु बेसार, अदुवा, सिन्कौलीबारे शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोगी हुने कुरा राजनीतिक क्षेत्रका उपल्लो तहबाट व्यक्त हुनु, छिमेकी मुलुक भारतका प्रतिष्ठित अस्पतालहरुले पनि यी वनस्पतिको गुणबारे लगातार सामग्री पस्कनु र कोरोना संक्रमण परास्त गरेकाहरुको अनुभवले यस्ता वनस्पतिको महत्व र चासो बढाएको राजविराज नगरपालिका वडा नं. २ का इन्द्रकान्त झाले बताए ।
बेसारलाई त हाम्रा शास्त्रहरुमै ‘सर्वोषधी’ भनिएको छ, अहिले खास चर्चामा रहेका अदुवा, तुलसी र गुर्जोसहितका सबै वनस्पति औषधीय गुणका हुन् भन्ने पहिले देखि नै स्थापित रहे पनि सन्त्रासबीच यस्ता वनस्पति र जडिबुटीको प्रचारप्रसार तथा महत्व बढाएको छ ।
घरघरै मसलामा प्रयोग हुँदै आएका बेसार, मरिच, अदुवा, जिरा, मेथी र मरिचजस्ता वनस्पतिको औषधीय गुणको प्रचार भएर प्रयोगसमेत बढ्नु स्वास्थ्य सचेतनाका दृष्टिले उत्तम मानिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । योसँगै जटिलभन्दा जटिल रोगको उपचारमा आयुर्वेदले सुझाउँदै आएको गुर्जो, र तुलसीले कोरोनालाई मात्र नभएर थुप्रै स्वास्थ्य समस्याबाट जोगाउन सकिने आयुर्वेद अस्पतालका प्रमुख डा. शिवशंकर यादवले बताए ।