राजविराज, २८ असार । आफु सप्तरीको ऋणीको भएको हुनाले जिल्लाको शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्न तत्पर रहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताएका छन् ।
राजविराजमा संस्थागत विद्यालयका छाता संगठनहरुद्वारा आयोजित “स्वागत” कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी आचार्यले यस्तो बताएका हुन् ।
शिक्षा मुलुकको मेरुदण्ड हो र शिक्षा बिना मुलुक धरापमा पर्ने निश्चित भएकोले शिक्षा क्षेत्रको सुधारको लागि आफु तयार रहेको भन्दै प्रजिअ आचार्यले सप्तरीका शिक्षकहरुबाट आफु पनि अध्ययन गरेको स्मरण गर्दै सप्तरीलाई शिक्षा क्षेत्रमा थप उर्जाबान बनाउन आफु सहयोग गर्ने बताए ।
जुम्ला निवासी प्रजिअ आचार्यले भने–“सप्तरीका शिक्षकहरुले नै हुम्ला जुम्ला गएर त्यहाँका बालबालिकाहरुलाई अध्ययन अध्यापन गर्ने गराउने भएकोले आफु पनि सप्तरीको ऋणी भएको बताए । सप्तरीको ऋणी भएकै कारण शायद ऋण चुकाउन सप्तरी आएको र सप्तरी बसुञ्जेल जिल्लालाई हरेक क्षेत्रमा चुस्त र दुरुस्त बनाउन कुनै कसर नराख्ने बताए ।
कोभिड–१९ को कारण अहिले पनि सप्तरीमा विद्यालय संचालनको वातावरण नबनेको हुनाले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तित्वहरुलाई विद्यालयहरुमा वैकल्पिक व्यवस्था गरेर अध्ययन अध्यापन गराउन आग्रह गर्दै प्रजिअ आचार्यले भने– “विद्यालय संचालनका लागि विज्ञहरुसँग वैचारिक विमर्श भई रहेको हुनाले छिटै नै कुनै निष्कर्षमा पुग्ने बताए ।
कार्यक्रममा नेपाल प्याप्ब्सनका अध्यक्ष दिनेश यादव, के. महासचिव तथा विद्यार्थी नेता शम्भु यादव, प्याब्सन सप्तरीका अध्यक्ष देबानन्द चौधरी, सचिव संजय शर्मा, प्याब्सन सप्तरीका सल्लाहकार अनिल कुमार झा, केअमाविका प्राधानाध्यापक योगेन्द्र प्रसाद यादव , जिल्ला शिक्षा समिति सदस्य हिरा लाल यादव सहितका व्यक्तिहरुको उपस्थिति थियो ।