अशोक झा ,राजविराज, २० जेठ । स्थानीय केही व्यक्तिले पाँच सय विगहा जग्गा अतिक्रमण गरेको समाचार कपोकल्पित भएको वडा अध्यक्ष जयराम साहले बताएका छन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष साहले आफ्नो वडामा कसैले कुनै जग्गामा अतिक्रमण नगरेको ठाेकुवा गर्दै केही व्यक्तिहरुले आफ्नो स्वार्थपूर्तिका लागि समाजिक संजाल तथा संचारमाध्यम द्वारा दिगभ्रमित मात्रेै गरेको बताएका छन् ।
बोदेबर्साइन नगरपालिका वडा नं. ६ खमगाढा पश्चिम टोल बस्ने फेकु साहले इलाका प्रहरी कार्यालय बोदेबर्साइनका सई अरुण कुमार सिंहसँग आर्थिक लेनदेन गरेर पाँच सय बिगहा जग्गा अतिक्रमण गरेको समाचार विभिन्न संचारमाध्यमका आएको प्रति वडा अध्यक्ष साहले खेद प्रकट गरेको छ । समाचार लेख्नु र सत्य समाचार जनता सामु ल्याउनु गणतन्त्रको गहना हो । तर, कुनै सत्यता नरहेको मुद्दामा एक व्यक्तिलाई मुछिने तत्व वा व्यक्ति पनि उत्तिकै दोषी रहेको हुनाले तथ्यविहिन समाचार सम्प्रेषण नगर्न सम्बन्धित पक्षलाई वडाअध्यक्ष साहले आग्रह समेत गरेका छन् ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना महामारीको समयमा बोदेबर्साइन लगायत देशभरिका प्रहरी आफ्नो ज्यानको परवाह नगरी जनतालाई सुरक्षा तथा सेवा दिने कार्यमा लिन्न रहेको बेला तथ्यहिन समाचारमा जनसेवकको रुपमा कार्यरत सई सिंहलाई समेत यस घटनामा दोषी बनाउनु दुर्भाग्यपूर्ण हो भन्दै अध्यक्ष साहले यसमा सई सिंहको कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
यसै सम्बन्धमा बिहीवार टेलिफोन कुराकानी गर्दै सई सिंहले आफुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा सिंचाई डिभिजन कार्यालयद्वारा आएको पत्रको निर्देशानुसार कार्य गरेको बताए । निर्देशानुसार आफुले बारम्बार फेकु साह तथा विपक्षीहरुबीचको छलफल गरेर मुद्दाको छिनोफानो गरिसकेको र छलफलका क्रममा दुवै पक्षले छलफलबाट आएको निर्णयलाई समेत मानेको दाबी गरे ।
सई सिंहका अनुसार स्थानीय फेकु साहले आफनो निजी १० कठ्ठा जग्गामा पोखरी खनिरहेको बेला केही व्यक्तिहरुले उसको निजी जग्गा नभएको भन्दै सरकारी जग्गामा पोखरी किन खन्ने दाबी गर्दै सिंचाई डिभिजन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत निवेदन दिएको र त्यही निवेदनको आधारमा आफुले काम गरेको बताए ।