१० दिनसम्म अस्पतालमा बसेर उपचार गरेका संक्रमितको तीन दिनसम्म कुनै लक्षण नदेखिए दोस्रो पटक पीसीआर परीक्षण नगरिने निर्णय सप्तरीमा भएको छ ।
चिकित्सकको सल्लाह बमोजिम दोस्रो पीसीआर नगरी एक हप्ता होम आइसोलेसनमा बस्ने गरी उनीहरुलाई पठाउने भएको र उनीहरुको ब्यबस्थापन स्थानीय तहले मिलाउने भएको छ ।
सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, सुरक्षा अधिकारी, जिल्ला संकट व्यवस्थापन समितिका पदाधिकारीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकाले अस्पतालमा भर्ना भएकालाई १० दिनसम्म उपचार गरेपछि तीन दिनसम्म लक्षण नदेखिएमा होम आइसोलेसनमा पठाउने निर्णय भएको हो ।
आइसोलेसन र क्वारेन्टिनमा १४ दिनसम्म बसिसकेकालाई दोस्रो पीसीआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वैशाख ३ गते कोरोना राहत तथा विपद् व्यवस्थापन कोष गठन गर्ने र त्यसमा प्रत्येक स्थानीय तहबाट रकम जम्मा गर्न पत्राचार गरिएकोमा हालसम्म केही स्थानीय तहबाट मात्र प्राप्त हुन आएकाले बाँकी स्थानीय तहबाट कोषमा यथाशीघ्र रकम जम्मा गर्न भनिएको छ ।
उक्त कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट सञ्चालनका लागि छिन्नमस्ता अस्पताल प्रा लिलाई ३० लाख सोधभर्ना हुने गरी हाललाई उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले जानकारी दिए ।